सुडान घोटालामा तीन पूर्व प्रहरी प्रमुखलाई दुई-दुई बर्ष कैद र १७ करोड सम्म जरिवाना

सुडान घोटाला प्रकरणमा आज विशेष अदालतले तीन प्रहरी प्रमुख र ठेकेदारहरुलाई करोडौ रुपैयाँ बराबरको जरिबाना र कैद सजायँको फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र र केदार प्रसाद चालिसेको ईजलासले दिएको फैसला अनुसार पूर्व प्रहरी महानिरीक्षकहरु ओमविक्रम राणा, हेम गुरुङ र रमेश चन्द ठकुरीलाई दुइ दुइ बर्ष जेल सजायँ तोकिएको छ । राणाबाट विगो र जरिवाना गरी १७ करोड रुपैयाँ भन्दा बढी असुल्न आदेश दिइएको छ भने गुरुङबाट ६ करोड भन्दा बढी तथा ठकुरीबाट ४ करोड रुपैयाँ भन्दा बढी विगो तथा जरिवाना असुली गर्न अदालतले आदेश दिएको छ । यस्तै ठेकेदार शम्भु भारतीलाई १ बर्ष जेल सजायँ तथा विगो र जरिबाना गरी २८ करोड रुपैयाँ भन्दा बढी असुली गर्न आदेश दिइएको छ । यसैगरी सामान आपूर्तिकर्ता बेलायती ठेकेदार माइकल राइडरलाई दुइ बर्ष कारावास सजायँ सुनाइएको छ भने राइडरबाट २८ करोड रुपैयाँ भन्दा बढी असुली गर्न आदेश दिइएको छ । सो काण्डमा मुछिएर मुद्धा खेप्दै आएका ३१ जना प्रहरी अधिकृतहरुले भने विषेश अदालतबाट सफाइ पाएका छन् ।

सुडानको डार्फरमा खटिएको नेपाल प्रहरीका लागि बन्दोवस्तीका सामग्री खरिद गर्ने क्रममा ब्यापक घोटाला भएको थाहा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३४ जना प्रहरी अधिकृत र नेपाली तथा वेलायती ठेकेदारहरु विरुद्ध गत बर्ष विशेष अदालतमा मुद्धा दायर गरेको थियो । सुडानमा खटिएको प्रहरीलाई पठाइएको सामग्री गुणस्तरहीन भएको गुनासो आएपछि संसदीय टोलीले सुडान पुगेर छानविन गरी ४५ करोडको सामग्री खरिद गर्दा झण्डै ३४ करोड रुपैयाँ घोटाला भएको ठहरसहितिको प्रतिवेदन दिएको थियो ।